Nidan Media

एनपीएलमा पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

पोखरा । नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको १४ औँ खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ ।

पोखराले साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्यो ।

पहिले ब्याटिङ गरेको पोखराले ६ विकेटको क्षतिमा १५५ रन बनायो । सुमीत बर्माले २९ बलमा अवीजित रहँदै ५० रन बनाए । दिनेश खरेलले ३८ रन जोडे । जनकपुरका संजय कृष्णमूर्तीले ३ विकेट लिए ।

जवाफमा जनकपुरले ८ विकेटको क्षतिमा १३० रनमात्र बनाउन सक्यो । वाइने पार्नेलले रिटायर्ड हर्ट हुनुअघि ३८ बलमा ५० रन बनाए । पोखराका विपिन खत्रीले १५ रन खर्चेर ४ विकेट लिए ।

आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिममात्र अपराजित रहेको छ । सुदूरले खेलेका चार ओटै खेल जितेको छ ।

सुदूर प्लेअफ नजिक पुगेको छ । विराटनगरले चार खेल खेलेकामा शुरुआती तीन खेल जिते पनि चौथो खेलमा हार बेहोरेको छ ।

चितवन तीन खेलबाट दुई जितसहित ४ अंकबाट तेस्रो तथा काठमाडौँ ४ खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै ४ अंकसहित चौथो स्थानमा छ ।

कर्णालीले तीनमध्ये एक खेल जितेर पाँचौँ स्थानमा छ । पोखरा ३ खेलमा एक खेल जितेर २ अंकसहित छैटौँ स्थानमा छ ।लुम्बिनी ४ खेलमा एक खेलमात्र जितेर २ अंकसहित सातौँ स्थानमा छ ।

साविक विजेता जनकपुरमात्र ३ खेलबाट अंकविहीन छ । अब एक खेल हार्दा जनकपुर प्लेअफ होडबाट बाहिरिनेछ ।

सुदूरपश्चिमले हरायो लुम्बिनीलाई 

१३ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ४ बलमा अलआउट हुँदै १४३ रन बनायो । कप्तान रोहित पौडेलले ३५ रन बनाए ।

हरमित सिंह र अभिनाश बोहराले समान ३ विकेट लिए । जवाफमा सुदूरले १८ ओभर २ बलमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । प्लेयर अफ द म्याच विनोद भण्डारीले ४९ बलमा अविजित रहँदै ६९ रन बनाए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.