काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानकर्ताहरूले पार्टी आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको लामो अन्योल र निर्णयहीनताले पार्टी आज गम्भीर संकटको मोडमा उभिएको बताएका छन् ।
उनीहरूले आज विज्ञप्ति जारी गर्दै पार्टीको वर्तमान अवस्थाको सम्पूर्ण जिम्मेवारी वर्तमान केन्द्रीय नेतृत्वले लिनुपर्ने चेतावनी दिएका छन् ।
जनताको अपेक्षा अनुसार पार्टीमा आमूल रूपान्तरण र नवीकरण आवश्यक रहेको भन्दै उनीहरूले गहिरो अनुभूति गरेर नै आफूहरूले विशेष महाधिवेशनको माग गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको यो मागलाई नेतृत्वले आजसम्म बेवास्ता गरेकोमा हामी गहिरो दुःख व्यक्त गर्छौं’, विज्ञप्तिमा भनिएको छ ।
विधानको पूर्ण पालना गर्नु सबैको पहिलो कर्तव्य भएको उल्लेख गर्दै हरेक गतिविधि, पहल र समाधान विधान कै दायराभित्र हुन्छ र रहने विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नियमित महाधिवेशनको मिति तोक्नसमेत आनाकानी गर्ने, विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याइरहने प्रवृत्ति कुनै पनि हिसाबले जिम्मेवार नेतृत्वको परिचय होइन ।’
उनीहरूले महाधिवेशनको कार्यतालिका होइन महाधिवेशन मागे गरेको भन्दै चुनावअघिको शक्ति–व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजिएको स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बाहना वा अविश्वसनीय नियमित महाधिवेशनको तालिकामा विशेष महाधिवेशनको माग निष्क्रिय हुन सक्दैन । वर्तमान कार्यसमितिको समयावधि थप नगरि नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित हुने भएमा मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुनेछ। अन्यथा, पार्टी विधानले दिएको वैधानिक अधिकार, विशेष महाधिवेशन, कसैले पनि रोक्न वा अतिक्रमण गर्न पाउँदैन।’
उनीहरूले विज्ञप्तिमार्फत विधान केन्द्रीय कार्यसमितिका लागि पनि समान रूपमा लागू हुन्छ कि हुँदैन, देश, लोकतन्त्र र पार्टीको हित सर्वोपरी हो कि व्यक्तिगत आकांक्षा र स्वार्थ ? भनि प्रश्न गरेका छन् ।
सुदृढ, एकताबद्ध र जनअपेक्षित नेपाली कांग्रेस निर्माणका लागि विधानले तोकेको समयसीमामा विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न हुनैपर्नेमा उनीहरूको जिकिर छ ।
पद होइन, पार्टी र देशको हित सर्वोपरी हुने भन्दै विज्ञप्तिमा एकताबद्ध, सक्षम र जनताको विश्वास जित्ने नेपाली कांग्रेस निर्माण गर्न सबै लाग्नुपर्नेमा उनीहरूको जोड छ ।





