काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटको ११ औँ खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ ।
काठमाडौँले लुम्बिनी लायन्सलाई पराजित गरेको हो । काठमाडौँ २२ रनले विजयी भयो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले ८ विकेटको क्षतिमा १५७ रन बनायो ।
मध्यक्रम छिट्टै ध्वस्त भए पनि कप्तान करण केसीले सनसनीपूर्ण ब्याटिङ गरेपछि काठमाडौँ सम्मानजनक स्थितिमा पुगेको थियो । करणले ११ बलमा अविजित रहँदै ३४ रन बनाए ।
आकाश त्रिपाठीले ३६ बलमा ३२ रन बनाए । सन्तोष यादवले १६ बलमा २६ रन जोडे ।
लुम्बिनीका लागि रोहित पौडेल गुल्बदिन नैब, शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले समान २-२ विकेट लिए ।
जवाफमा लुम्बिनीले १९ ओभर १ बलमा अलआउट हुँदै १३५ रनमात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि अलराउन्डर शेर मल्लले १८ बलमा २७ रन बनाए । दिलिप नाथले ३३ बलमा २५ रन जोडे ।
काठमाडौँका लागि मिलिन्द कुमार र गेर्हाल्ड इरास्मसले समान २ विकेट लिए ।
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिम र विराटनगर तीन खेलमा सबै खेल जितेर ६ अंकसहित अगाडि रहेका छन् ।
काठमाडौँ ४ खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै ४ अंकसहित तेस्रो स्थानमा पुगेको छ ।
लुम्बिनी र कर्णालीले तीनमध्ये एक खेलमात्र जितेका छन् । चितवनले २ खेलमध्ये एक जित हासिल गरेको छ । पोखरा र जनकपुरले दुवै खेल हारेका छन् ।





