काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कुल ६८ राजनीतिक दल दर्ता भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलबारसम्म ६८ ओटा दल दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
प्रवक्ता भट्टराईका अनुसार हाल आयोगमा दर्ता कायम रहेका दलको संख्या एक सय ३२ पुगेको छ ।
आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ । उनले बाँकी सबै राजनीतिक दललाई समेत निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता हुन आह्वान गरे ।
प्रवक्ता भट्टराईले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको पनि बताए ।
विदेशी नागरिकलाई मताधिकारको विषयमा आवश्यक कानून बनिसकेकोपछि निश्चित हुने पनि बताए । उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए ।





