काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले महिला हिंसा अन्त्यका लागि गरिबी निवारण र समाजलाई जगाउने कुरालाई निरन्तर अघि बढाउन आवश्यक रहेको बताएकी छन् ।
उनले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने प्रतिवद्धतासमेत जनाएकी छन् ।
मंगलबार काठमाडौँमा एक समारोहका बीच लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्रीले महिलाहरूलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिन्ह खडा हुने समेत बताइन् ।
उनले आफूले हरेक नियुक्ति र बढुवामा महिलाहरू कहाँ छन् भनेर खोज्ने गरेको जिकिरसमेत गरिन् ।
प्रधानमन्त्रीले आफूले सकेसम्म महिलाहरूलाई सरकारी नियुक्ति र बढुवामा जोड दिने समेत स्पष्ट पारिन् ।
आफू सरकारमा आएको करिब दुई महिना बढी भएको र यस बीचमा पनि आफूले महिलाहरूलाई अघि बढाउने कुरालाई प्रश्रय दिएको उनको दाबी थियो ।
प्रधानमन्त्री कार्कीले महिलाहरूको उपदेयता हुने ठाउँमा उनीहरूलाई नियुक्त गरेर अघि बढने बताइन् ।
उनले महिलालाई प्रोत्साहन गरेर अघि नबढ्ने हो भने महिला हिंसाले झनै जरा गाड्नेसमेत बताइन् ।





