Nidan Media

एक्काइसौँ लेखनाथ महोत्सव पुस ३ देखि १४ गतेसम्म

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजनामा पुस पहिलो साताबाट २१औँ लेखनाथ महोत्सव सञ्चालन हुने भएको छ ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका आगामी पुस ३ देखि १४ गतेसम्म तालचोकमा महोत्सव हुनेछ ।

संघका अध्यक्ष एवं महोत्सव मूल संयोजक जानुका पराजुली अधिकारीका अनुसार २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट महोत्सव शुरू भएको हो ।

महोत्सवलाई समयानुकूल परिस्कृत गर्दै २०६१ देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको उल्लेख उनले बताइन् । उनले विभिन्न जातजाति, भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाइन् ।

प्रचारप्रसार संयोजक ध्रुवबाबु भट्टराईले विषम् आर्थिक परिवेशमा मेला, महोत्सव आयोजना गरिनु आफैंमा चुनौतीपूर्ण रहेको बताए ।

उनले व्यवसायी तथा आम सर्वसाधारणको खस्किएको मनोबल उच्च बनाउन र राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव गर्न लागिएको बताए ।

मेला, महोत्सवले स्थानीय र राष्ट्रिय स्तरको अर्थतन्त्रको विकासमा टेवा पुग्नुका साथै क्रेता, बिक्रेता र उपभोक्ताको आवश्यकता र परिपूर्तिको संगमस्थलका रुपमा महोत्सव प्रयोग हुने भट्टराईको दावी छ ।

कार्यक्रममा संघका महासचिव भरतराज ओझा, वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बाँस्तोला, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, पत्रकार सरिता तिमिल्सिना पँगेनी, गृहलक्ष्मी ग्यास कम्पनीका महाप्रबन्धक भीमराज लामिछानेलगायतले बोलेका थिए ।

महोत्सवका कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति, तीन सय सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

महोत्सवमा तीन सय ३५ स्टल रहने बताइन्छ । महोत्सवमा दुई लाख ५० हजारभन्दा बढी दर्शकले मेला अवलोकन गर्ने र करिब नौ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र महोत्सव गर्नका लागि ८५ लाख खर्च लाग्ने र १० लाख बचत हुने आयोजकको अनुमान छ ।

महोत्सवका विशेष आर्कषणमा औद्योगिक व्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य एवं खाद्यान्न, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामान, विद्युतीय उपकरण, फर्निचरका सामान, भान्छामा प्रयोग हुने मालसामान, शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्री, सूचना प्रविधि तथा सञ्चारका उपकरण, लेखनाथ क्षेत्रका गतिविधि छन् ।

यस्तै, फुड फेस्टिभल, अटोमोबाइललगायतको प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी, जैविक विविधता, दुग्धजन्य उत्पादनलगायतको बिक्री एवं प्रदर्शनी रहने छन् ।

यस वर्ष महोत्सवमा शान्ति दूत गौतम बुद्धको प्रतिमा सहितको पर्यटन प्रवर्द्धन कार्यक्रम, विजनेस टक सो र मोटीभेसनल स्पिच, जातजातिका रीतिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी र्याली, रत्यौली गीत कार्यक्रम, शैक्षिक प्रदर्शनी, विद्यालय स्तरीय कार्यक्रम, महोत्सव प्रवर्द्धनसम्बन्धी टिकटक प्रतियोगिता, कन्टेन्ट क्रिएसन प्रतियोगिता, सुगम संगीततर्फ पप कन्सर्ट र लाइभ ब्यान्ड, राष्ट्रिय स्तरका चर्चित कलाकारबाट लोकदोहोरी तथा स्टेज सो, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार छन् ।

महोत्सव हेर्न सर्वसाधारणका एक सय, विद्यार्थीका लागि ५० र बेलुका सुगम संगित÷कन्सर्टका लागि २ सयको टिकट लाग्नेछ । महोत्सवको बचत रकमबाट नवउद्यमी उत्पादनमा पहल, उद्यमशिलता विकास, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, पर्यटन प्रवर्द्धनका साथै सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.