काठमाडौँ । प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल उपविजेता बनेको छ ।
श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर एक सय १४ रन बनाउँदै भारतलाई जीतका लागि एक सय १५ रनको लक्ष्य दिएको थियो ।
नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३३ रन बनाइन् । बिमला राईले २६ रन बनाइन् ।
जीतका लागि एक सय १५ रनको लक्ष्य भारतले १२.१ ओभरमै पूरा गर्यो ।
भारतका लागि फुला सरेनले अविजित ४४ रन बनाइन् भने करुना कुमारीले ४२ रन बनाइन् ।
नेपालले सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै पहिलो पटक भइरहेको ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको थियो ।
यसअघि लिग चरणको खेलमा पनि नेपाल भारतसँग पराजित भएको थियो ।





