काठमाडौँ । नेपाली कांग्रेसले माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छ ।
निर्वाचन आयोग पुगेर आज कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दल दर्ता गराएका हुन् ।
हिजोमात्रै पार्टीको केन्द्रीय समितिको बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट आज निर्वाचन प्रयोजनको लागि दल दर्ता भएको हो ।
एमालेले भने अहिलेसम्म प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छैन । तर, उसले राष्ट्रियसभाको निर्वाचनको लागि भने दल दर्ता गराईसकेको छ ।
एमालेले संसद् विघटन असंवैधानिक भन्दै पुनःस्थापनाको लागि हस्ताक्षरसमेत संकलन गरेको छ ।
प्रतिनिधिसभा पूनःस्थापनाको माग लिएर न्यायिक प्रक्रियामा जान भनेर महेश बर्तौला र सुनिता बराललाई जिम्मासमेत दिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि हालतमा प्रतिनिधिसभा पूनःस्थापना हुने दाबी गर्दै आएका छन् ।
तर, एमाले नेतृत्वले निर्वाचनबाट पार्टी नभाग्नेसमेत भनेका छन् ।
निर्वाचनको वातावरण बनाए आफूहरू निर्वाचनमा जान जहिल्यैपनि तयार नै रहेको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।




