चितवन । नेपालमा अण्डाको मूल्य आइतबारदेखि लागू हुने गरी भारी वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्य सूचीअनुसार अण्डाको भारी वृद्धि भएको हो ।
नयाँ मूल्य सूचीअनुसार अति ठूलो (एक्स्एल) अण्डा प्रतिक्रेट (३० ओटाको) पाँच सय २०, ठूलो अण्डा पाँच सय पाँच र मिडियम चार सय ९० रुपैयाँ कायम गरिएको छ ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यस अघिको मूल्यभन्दा प्रतिक्रेट ५५ रुपैयाँले बढेको हो । उनका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो ।
भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उनले बताए।
सङ्घका सल्लाहकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा भारतीय ७ दशमलब ८० रुपैयाँमा बिकेको छ ।
भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत नगरिएको हो । कँडेलका अनुसार नेपालमा भारतीय अवैध अण्डा नभित्रिँदा किसानले लागत मूल्य पाउने देखिएको हो ।
अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा १६ दशमलब ५७ रुपैयाँ पर्न आउँछ । अहिलेको दररेटमा अण्डा बिक्री गर्दा नेपालका किसानले लागत मूल्य पाएको उनले बताए ।
नेपालमा अण्डाको बजारीकरणमा जुटिरहेको सङ्घका अध्यक्ष पोखरेलले जाडो महिनामा अण्डाको खपत बढ्ने गरेको बताए ।
उनका अनुसार जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण माग बढेको हो ।
तीन महिना अघि ठूलो अण्डा प्रतिक्रेट पाँच सय ३० रुपैयाँ पुगेकामा क्रमशः चार सयमा झरेको थियो । पुनः क्रमशः बढ्दै गएर किसानले लागत मूल्य पाउने अवस्थामा पुगेको हो ।
यससँगै किसान लाभान्वित हुने भएका छन् । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ ।





