Nidan Media

वामपन्थी विचारबाट झरिसकेका र पतन भइसकेकाहरूले नेकपाका नाममा एकता गरे : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रति कडा टिप्पणी गरेका छन् । उनले वामपन्थी विचारबाट झरिसकेका र पतन भइसकेकाहरूले नेपाली कम्युनिष्ट पार्टीका नाममा एकता गरेको भन्दै टिप्पणी गरेका हुन् ।

शुक्रबार नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै उनले वामपन्थीबाट र बामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान नरहेको बताए ।

उनले भने,‘पार्टी सबभन्दा मजबुद बनाउन त्यति सजिलो छैन् । केही मान्छेहरू छन बाम एकता भनेर घाँटी बसुन्जेल कराएका छन् । हामी सँधै त्यसरी वाम एकता गर्दैनौँ । परेका बेला जाग्छौँ । वामपन्थीबाट झरिसकेका वामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान छैन् ।’

उनले स्वयंमसेवक फोर्स राष्ट्रिय हितका लागि लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको बताए ।

नेकपा एमालेसँग असहमति राख्नेका लागि पनि जिउधनको रक्षा गर्ने काम र अधिकारको लागि फोर्स गठन भएको भन्दै यसको गठन र मजबुदीसँग कोही पनि तर्सिन नपर्ने उनको भनाइ छ ।

उनले भने, ‘स्वयंसेवक फोर्स राष्ट्रिय हितका लागि, लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको हो । नेकपा एमालेसँग अथवा संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा र अधिकारको लागि गठन भएको हो । त्यसैले यसको गठन, विकास र मजबुदीसँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन ।’

अध्यक्ष ओलीले घर फर्क अभियानमार्फत नेकपा एसबाट एमालेमा फर्कनेलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको जानकारी गराए ।

उनले भने, ‘हामीले अस्ति भर्खरै नेकपा एकीकृत समाजवादी बनाउन जानुभएकाहरू एमालेमा फर्केर आउनु भएको छ । तीमध्ये नेताहरूलाई हामीले महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेको छौँ ।’

नेताहरूलाई युवा भेलामा जान नदिएर आक्रमणकारी र आतङ्क मच्चाउने काम अहिलेसम्म जारी रहेको बताउँदै अध्यक्ष ओलीले त्यस्ता क्रियाकलाप तत्काल रोक्न सरकारलाई आग्रह गरे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.