Nidan Media

सिमरा घटना मिलाउन आज दुवै पक्षबीच वार्ता हुने, जनजीवन सामान्य

काठमाडौँ । बाराको सिमरामा भएको घटनाको विषयमा आन्दोलरत पक्षसँग आज वार्ता हुने भएको छ ।

नेकपा एमाले र ‘जेन-जी आन्दोलन’का युवाहरूबीच बुधबारदेखि शुरू भएको झडप तथा तनावलाई वार्ताबाट समाधान गर्ने प्रयास खोजिएको हो ।

जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुवै पक्षबीच वार्ताका लागि पहल गरिरहेको जानकारी दिए ।

उनले शुक्रबार हुने वार्ताले स्थायी समाधान निकाल्ने विश्वास व्यक्त गरे । वार्तामा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङ, पुरुषोत्तम यादवलगायत सहभागी हुने भएका छन् । उनीहरू बिहीबार साँझ नै सिमरा आइपुगेका छन् ।

प्रहरीमा दर्ता भएको जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र बताए ।

पक्राउ पर्नेमा जितपुरसिमरा वडा नं २ का ३८ वर्षीय अरविन्द साह, वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं ६ का वडाध्यक्ष कैमद्विन अन्सारी छन् ।

उनीहरूलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

घटनामा छ प्रहरी र चार जेन-जी युवा घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रशासनले सिमरा क्षेत्रमा पटक-पटक कर्फ्यू आदेश जारी गरेको थियो ।

जेन-जी समर्थकले शुक्रबारसम्मका लागि सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

शुक्रबार बिहानैदेखि सिमराको जनजीवन सामान्य बनेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.