Nidan Media

मालढुङ्गा-बेनी सडक दैनिक सात घण्टा बन्द हुने

पोखरा। कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा-बेनी सडक स्तरोन्नतिका लागि मंसिर १ गतेदेखि दैनिक सात घण्टा बन्द हुने भएको छ।

कालोपत्रको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ देखि २० गतेसम्म बिहान १० देखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने लागिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए।

सवारीसाधन आवत-जावत गर्दा कालोपत्र गर्ने कार्य प्रभावित भएपछि बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय जोमसोको अनुरोधमा एम्बुलेन्स र बिरामी बोकेका सवारीसाधन तथा विकास निर्माणका अत्यावश्यक बाहेकका सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

पर्वतको कुश्मा नगरपालिका वडा नं १ मालढुंगादेखि जलजला गाउँपालिकाको वडा नं ८, ७, ४ र ३ हुँदै म्याग्दीको बेनी जोड्ने १३ किमी दुरीमा दुई लेनको सडक स्तरोन्नति भइरहेको छ ।

उक्त सडक बन्दको समयमा मालढुंगा, बागलुङबाट रत्नेचौर हुँदै बेनीको सडक प्रयोग गर्न सकिन्छ ।

ठेकेदारको ढिलासुस्ती र आयोजना पक्ष निरीह हुँदा विसं २०७७ साल चैत्र महिनामा ५२ करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको ठेक्का अहिलेसम्म पूरा हुन सकेको छैन।

विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत शुरू गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा-बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो।

म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा-बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.