पाेखरा । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ ।
स्थानीय किसान र विभिन्न संस्थाले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको थियो ।
रोपेको छ महिनामै स्याउ फल्न थालेपछि स्थानीय आशावादी बनेका छन् । हिमाली भूभागमा स्याउखेतीको यो सफल प्रयासले ताप्लेजुङमात्र होइन, सम्पूर्ण पूर्वी हिमाली क्षेत्रका किसानका लागि व्यावसायिक स्याउखेतीको नयाँ सम्भावना देखाएको छ ।
फलेटार र ग्याप्ला क्षेत्रमा विगतदेखि नै स्याउ खेती हुँदै आएको भए पनि घुन्सामा पहिलोपटक परीक्षण गरिएको हो । मनाङ एग्रो फार्मको समन्वयमा इटालीबाट ल्याइएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका स्याउका बिरुवा रोपिएको थियो ।
पुतली सहयोग योजना, स्वीट्जरल्याण्डको टोली र स्थानीय समुदायको साझेदारी तथा पुतली सहयोग आयोजनाको सहकार्यमा दिगो पर्यावरणीय कृषि प्रणाली कार्यक्रमअन्तर्गत फलेटार र घुन्सामा दुईदुई रोपनी क्षेत्रफलमा नमूना स्याउ बगैँचा विस्तार गरिएको छ ।
परियोजनाको उद्देश्य स्याउ उत्पादनसँगै अन्य कृषि उपजमार्फत किसानलाई आर्थिक रूपमा सशक्त बनाउनु रहेको पुतली सहयोग योजनाका जिल्ला संयोजक दावाछिरिङ शेर्पाले जानकारी दिए ।
घुन्सास्थित नमूना बगैँचामा ६० जापानिज फुजी (पोथी), १० गोल्डेन डेलिसियस (भाले) र १० काला (भाले) प्रजातिका स्याउका बिरुवा रहेको छ । बगैँचामा जैविक विविधता कायम गर्न घार मौरी र कुखुरापालन गरिएको छ, यसले स्याउका फूलमा परागसेचनमा सहयोग पु¥याउने र माटो उर्वर बनाउने काम गरेको छ ।
स्याउखेतीको सम्भाव्यता अध्ययनका लागि चार वर्षअघि फलेटार र घुन्साको माटो स्वीट्जरल्याण्डमा परीक्षण गरिएको थियो ।





