Nidan Media

कांग्रेसको १५औँ महाधिवेशन मंसिर महिनाभित्रै गर्न माग

पाेखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको विशेष भेलाले पार्टीको १५औँ महाधिवेशन नियमित रूपमा मंसिर महिनाभित्रै गर्न माग गरेको छ । भेलाले कार्यसमितिको कार्यकाल सकिएर पनि महाधिवेशन नथालिएको विषयलाई ‘गम्भीर कमजोरी’को रूपमा लिंदै मंसिर महिनाभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव नै पारित गरेको हो।

मंसिमा महाधिवेशन सम्भव नभएमा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भएकोले विशेष महाधिवेशन आह्वान गर्न र आवश्यक तयारी गर्न पनि भेलाले प्रस्ताव पारित गरेको छ ।

भेलाले पछिल्लो राजनीतिक अवस्थालाई गम्भीर समीक्षा गर्दै पाँच बुँदे प्रस्ताव पारित गरेको छ। बैठकले भदौ २३-२४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएको आक्रमण, तोडफोड र आगजनीलाई ‘अमानवीय’ भन्दै कडा शब्दमा भत्र्सना गरेको छ।

प्रदर्शनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेतामाथि भएको आक्रमण, पार्टी कार्यालयमा गरिएको तोडफोड र आगजनी एवं सार्वजनिक, निजी सम्पत्तिमा भएको तोडफोडप्रति पनि बैठकले गम्भीर आपत्ति जनाएको छ।

गण्डकी प्रदेश समितिले कांग्रेस संगठन समयअनुकूल परिमार्जन हुन नसक्दा कार्यकर्ता र आम जनतामा निराशा बढ्दै गएको निष्कर्ष निकालेको छ।
प्रस्तावमा भनिएको छ “अब एक पटक फेरि जनतासँग माफी माग्दै आत्मालोचनासहित सुधारतर्फ फर्किनैपर्छ।”

बैठकमा सहभागी नेताहरूले पार्टीभित्र बढ्दो असन्तुष्टि, नेतृत्वप्रतिको अविश्वास र निर्णय गर्न नसक्ने प्रवृत्तिले संगठन कमजोर हुँदै गएको चेतावनी दिएका छन्।

भेलामा पार्टीको प्रदेश समिति पदाधिकारीसहित बिभिन्न जिल्ला समिति सभापति र पार्टीको विभिन्न तहका नेता कार्यकर्ताले बोलेका प्रदेश समिति प्रवक्ता माधव बास्तोला मधुले जानकारी दिए।

भेलामा प्रदेश सभापति शुक्रराज शर्माले तुरुन्त नियमित महाधिवेशनको तालिका सार्वजनिक गर्न माग गरे। उनले नियमित महाधिवेशन नगरे ५४ प्रतिशत हस्ताक्षर अनुसार विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।

‘महाधिवेशन हाम्रो आन्तरिक प्रक्रिया हो, अवधि पुगेको छ भने के कारणले रोकिएको छ ?’ उनले प्रश्न गरे।

सभापति शर्माले आन्तरिक स्वार्थका कारण केन्द्रीय समिति अनिर्णयको बन्दी बनेको भन्दै कांग्रेसले धार्मिक स्वतन्त्रता, प्रजातन्त्र, समाजवाद छोडेर आंफ्नो विरासतमा नफर्किने हो भने सभापति जो बने पनि देशलाई केही दिन नसक्ने दाबी गरे ।

यथाशीघ्र नियमित महाधिवेशनको मिति घोषणा गर्नुपर्ने र त्यसो नभए ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग अनुसार विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिंदै शर्माले कुनै निर्णय दिन नसक्ने हो भने नेतृत्व छोड्न समेत चेतावनी दिए ।

शर्माले पार्टी र जनताबीचको दूरी बढ्दै गएमा देश दुर्घटनामा फस्ने चेतावनी दिंदै धार्मिक स्वतन्त्रता, प्रजातन्त्र र समाजवादजस्ता कांग्रेसका मूल सिद्धान्तबाट विचलित हुँदा पार्टी कमजोर भएको तर्क गरे ।

“जनतालाई मालिक मानेर सेवा गर्न कांग्रेसका नेता कार्यकर्ता लाग्नुपर्छ । त्यसका लागि महाधिवेशन हुनुपर्छ । नियमित महाधिवेशनले मात्र पार्टीलाई बलियो बनाउँछ”, सभापति शर्माले भने ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.