सिन्धुली । सिन्धुलीका तीनपाटन गाउँपालिका वडा नं २ परेकी छत्रकुमारी कार्की (थापा) को हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
यही कात्तिक १७ गते घरबाट हराएकी ४० वर्षीया छत्रकुमारीको शव कात्तिक २१ गते तीनपाटन गाउँपालिका वडा नं १ सिसौघारीमा फेला परेको थियो ।
यही कात्तिक १८ गते इलाका प्रहरी कार्यालय बेलघारीमा तिलकबहादुर लकाइले दिएको उजुरीका आधारमा प्रहरीले खोजतलास अभियान थालेको थियो ।
घाँटीमा सलले कसेको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले दुधौली नगरपालिका वडा नं १३ का २९ वर्षीय बुद्धबहादुर कामी, दुधौली नगरपालिका वडा नं १२ का अर्जुन विक र पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ का २६ वर्षीय धर्मराज रामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
सोधपुछका क्रममा घटनामा दुधौली नगरपालिका वडा नं १३ का सूर्यबहादुर कामी र उनका भाञ्जा टङ्कबहादुर कामी संलग्न रहेको खुलेको प्रहरी उपरीक्षक सुवेदीले बताए ।
सूर्यबहादुरलाई दाङको लमही नगरपालिका वडा नं ५ बसपार्क क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुली ल्याइएको हो ।
उनले प्रारम्भिक अनुसन्धानका क्रममा हत्या गरेको स्वीकारेका छन्। घटनामा संलग्न भनिएका सूर्यबहादुरका भाञ्जा टङ्कबहादुरलाई दुधौली वडा नं ९ बाट पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
मृतक छत्रकुमारीको मोबाइल फोन अभियुक्त सूर्यबहादुरले फ्याँकेको ठाउँबाट प्रहरीले बरामद गरेको छ । शव परीक्षण प्रतिवेदनमा उनको मृत्यु सल घाँटीमा कसेर भएको पुष्टि भएको छ ।
प्रारम्भिक बयानअनुसार अवैध सम्बन्धका कारण हत्या भएको खुल्न आएको छ । लामो समयदेखि अवैध सम्बन्ध रहेको र अरुले थाहा पाउने डरले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतक छत्रकुमारीका श्रीमान् महेन्द्रबहादुर थापा र सासु-ससुरा भारतमा काम गर्दै आएका छन् ।
घटनाको थप अनुसन्धान जारी रहेको र अन्य संलग्न व्यक्तिको खोजी तथा प्रमाण सङ्कलन कार्य भइरहेको प्रहरी उपरीक्षक सुवेदीले बताए ।





