Nidan Media

आज उत्पत्तिका एकादशी व्रत गरिँदै, के छ महत्त्व ?

पोखरा । आज उत्पत्तिका एकादशी । एक वर्षमा मनाइने कुल २६ किसिमका एकादशीमध्येको एक उत्पत्तिका एकादशी मंसिर महिनाको कृष्ण पक्षमा मनाउने गरिन्छ । एकादशीको व्रत कसैले शुरू गर्न चाहन्छ भने उत्पन्ना एकादशी वा उत्पत्तिका एकादशीको दिनदेखि शुरू गर्नु राम्रो हुन्छ । यो एकादशीमा व्रत शुरू गर्दा भक्तहरूलाई उनीहरूको वर्तमान र विगतको सबै पापहरूबाट मुक्त गराउन सकिन्छ भन्ने धार्मिक मान्यता छ ।

शास्त्रीय मान्यता अनुसार यस एकादशीको दिन भगवान् विष्णुबाट उत्पन्न भएकी देवी एकादशीले मुर राक्षसको वध गरेकी थिइन् । यही दिन एकादशीले विजय हासिल गरेको उपलक्ष्यमा उत्सव पनि मनाउने गरिन्छ । देवी एकादशीको जन्म पनि यही दिन भएको थियो । उत्पन्ना एकादशीको दिन उपवास गर्ने व्यक्तिलाई विष्णु र देवी एकादशीको विशेष आशीर्वाद मिल्छ भन्ने मान्यता पनि छ ।

उत्पन्ना एकादशीको उपवासमा बसेको व्यक्तिले दशमीको दिनदेखि नै यसको विधान पूरा गर्नुपर्ने हुन्छ । बिहान प्रातः कालमा नै उठेर स्नानादि कर्म गर्नुपर्छ ।

सानो टेबुल वा जमिनमा रातो कपडा बिछाउनु पर्छ । भगवान विष्णुको मूर्ति वा चित्रको पूजा गरी गंगाको पानी, धूप, बत्तीहरू आदि छर्केर पूजा गर्नुहोस् । त्यसपछि पहेलो फूल र फलहरु चढाउनुपर्छ । त्यसपछि घिउको बत्ती बाल्नुहोस् । त्यसपछि आरती गरेर विष्णु सहस्रनामको पाठ गर्नु होस् ।

दिनभरि भजनकीर्तन गरेर एकादशी देवीको उपासना गर्न सकिन्छ । साँझमा दीपदान गरेपछि त्यसको प्रसाद आफू पनि लिनुपर्छ । भोलिपल्ट बिहान द्वादशी तिथिमा भगवान् श्रीकृष्णको पूजा गर्नुहोस् र अभाव भएकाहरुलाई खाना उपलब्ध गराउँदा राम्रो हुने मान्यता छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.