काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो समय असन्तुष्टि चुलिँदै जाँदा केन्द्रीय स्तरका नेताहरू धमाधम पार्टीबाट बाहिरिन थालेका छन् ।
यसैक्रममा सचिवालय सदस्य सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । उनी विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतकसमेत हुन् ।
छुट्टै अभियान शुरू गर्ने लक्ष्यका साथ परियारले रास्वापमा राजीनामा दिएको बताइएको छ ।
यसअघि पूर्व शिक्षामन्त्रीसमेत रहेकी सुमना श्रेष्ठले पनि पार्टी परित्याग गरेकी थिइन् ।
नेता परियारले कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएका छन् ।
परियारको राजनीतिक पृष्ठभूमि कम्युनिष्ट हो । उनी अब घनश्याम भुसाल, जनार्दन शर्मा, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले शुरू गर्न लागेको अभियानमा जोडिने अनुमान गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारले माओवादी केन्द्र छाडेका जनार्दन शर्मासँग छलफल थालेका छन् ।
नयाँ अभियान शुरू गर्ने भन्दै परियार र शर्माबीच अहिले छलफल भइरहेको बताइएको छ । उनको छलफल नयाँ पार्टी बनाउनेतर्फ लक्षित रहेको बताइन्छ ।
परियारले डा बाबुराम भट्टराईकी पुत्री मानुषी यमी भट्टराई, पूर्वमन्त्री सुदन किराँतीलगायतलाई समेट्ने प्रयास गरेको बुझिएको छ ।





