काठमाडौं। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ र अन्य सम्बन्धित अधिकारीहरूलाई घटनाबारे छानबिनका लागि आयोगमा उपस्थित हुन निर्देशन दिएको छ।
आयोगको आज बसेको बैठकले तत्कालीन घटनाबारे अनुसन्धानका लागि पूर्वआईजीपी खापुङलाई आयोगमा उपस्थित हुन आवश्यक देखिएकाले हालका लागि उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो।
खापुङ आजदेखि सेवा निवृत भएका छन् । आयोगले खापुङलाई काठमाडौँ उपत्यका बाहिर जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने बताएको छ।
आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्मा अनुसार आयोगले घटनाबाट भएको क्षतिको विवरण अझै बाँकी रहेमा आयोगको ठेगानामा वा सिंहदरबारस्थित कार्यालयमा उपलब्ध गराउन सबै सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।
आयोगका निर्णय तथा सूचना गृह मन्त्रालयको वेबसाइटमा पनि हेर्न सकिने व्यवस्था गरिएको जनाइएको छ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि विदेश भ्रमणमा रोक लगाइएको छ भने काठमाडौँ उपत्यका बाहिर जान पनि अनुमति लिनुपर्छ ।





