Nidan Media

नेकपा र भीम रावलको अभियानबीच सात बुँदे सहमति

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावल बीच बुधबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा सात बुँदे सहमति सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षाका साथै देशलाई सबल र जनतालाई समृद्ध तुल्याउनुपर्ने चुनौती रहेको र देश र जनताको सर्वोपरी हित एवं सुशासन, सामाजिक न्याय र आर्थिक-सामाजिक रूपान्तरणको अभिभारा आफूहरूसँग रहेको उल्लेख गरिएको छ।

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालकाबीच देशभक्ति तथा समाजवादको आदर्शयुक्त सशक्त र सुदृढ पार्टी निर्माण गर्दै नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्ने उद्देश्य राखिएको छ। साथै, बाह्य हस्तक्षेप र दबाबबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने सहमति भएको छ।

दुई समूह समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रूपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने छन्। आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने समझदारी बनेको छ।

मातृभूमि जागरण अभियान अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरूलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गरिनेछ। नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियानका संयोजक डा. रावलको जिम्मेवारीलगायतका विषयमा आपसी सहमतिबाट टुङ्गो लगाउने सहमति भएको छ।

पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरू आपसमा मिलेर तयार गर्ने, तथा पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा सामूहिक नेतृत्व र जनवादी केन्द्रीयता को अनुशरण गरिने बताइएको छ। सहमति पत्रमा पार्टी एकीकरणका लागि विभिन्न तहमा आवश्यकताअनुसार कार्यदल गठन गर्ने समझदारी भएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.