Nidan Media

पर्वतमा कारागारबाट छुटेकै दिन श्रीमतीको हत्या, जीतबहादुर पक्राउ

पर्वत । पर्वतमा गएराति एक महिलाकाे हत्या भएकाे छ । मोदी गाउँपालिका वडा नं ६ दराककी ५२ वर्षीया श्रीमती सीता विककाे हत्या भएको हो ।

सीताको हत्या उनकै श्रीमान ५१ वर्षीय जीतबहादुर विकले गरेकाे पुष्टि भएको प्रहरीले जनाएको छ ।

जीतबहादुरको कुटपिटबाट गम्भीर घाइते भएकी सीताको प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै अस्पताल पुर्याएको थियो । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।

जीतबहादुर सोमबार नै कारागारबाट छुटेका थिए । जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमती सीताले नै धरौटी रकम तिरेर उनलाई छुटाएकी थिइन् ।

कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए । त्यसअघि उनलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका थिए ।

सोमबार घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको पाइएको प्रहरीले जनाएको छ ।

उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन्भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.