Nidan Media

जापानमा गयो शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौँ। जापानको उत्तरपूर्वी प्रशान्त तटमा आइतबार साँझ ६.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार, भूकम्प साँझ ५:०३ बजे (जापानी स्थानीय समय) इवाटे प्रान्तको समुद्री क्षेत्रमा केन्द्रित थियो। भूकम्पको तीव्रतालाई अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (युएसजिएस) ले ६.८ रेक्टर स्केल मापन गरेको छ।

जेएमएले इवाटे तटका लागि ‘सुनामी सल्लाह’ जारी गर्दै करिब एक मिटर (तीन फिट) उचाइको सम्भावित सुनामी आउन सक्ने चेतावनी दिएको छ।राष्ट्रिय प्रसारणकर्ता एनएचकेले अपतटीय क्षेत्रमा सानो सुनामी छालहरू देखिएको पुष्टि गर्दै जनतालाई समुद्र तटबाट टाढा रहन र उच्च स्थानमा सर्न आग्रह गरेको छ।

जेएमएले समुद्री छालहरू कुनै पनि क्षण तटीय क्षेत्रमा पुग्न सक्ने चेतावनी दिएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यो क्षेत्र सन् २०११ को विनाशकारी ९.० रेक्टर स्केलको भूकम्प र त्यसपछिको विशाल सुनामीको पीडादायी स्मृतिले अझै त्रसित छ। उक्त विपद्ले करिब १८ हजार ५०० मानिसको ज्यान लिएको थियो र फुकुसिमा आणविक ऊर्जा संयन्त्रमा दुर्घटना निम्त्याएको थियो।

जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित भएकाले भूकम्पीय रूपमा विश्वकै सबैभन्दा सक्रिय राष्ट्रमध्ये एक हो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.