Nidan Media

हिमपहिरोमा हराएका पाँच जना अझै अज्ञात, खोजीकार्य किन गरियाे स्थगित ?

काठमाडौँ । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएका पाँच जनाको अवस्था अझै अज्ञात छ । जसमा दुई नेपालीसहित पाँच जना छन् । अब उनीहरू जीवितै भेटिने सम्भावना छैन ।

साे हिमपहिराेमा बेपत्ता सात जनामध्ये दुई जनाको शव यस अघि नै फेला परेको थियो । भेटिएका दुई शवमध्ये एक फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे र अर्को इटलीका पाउलो कोको रहेको पुष्टि भएको छ ।

आरोहीहरूको खोजी कार्य हाललाई स्थगित गरिएको छ । खोज तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाका अनुसार अब हिउँ निकै कडा भएको र त्यसलाई खन्न असम्भव देखिएकाले हाललाई खोजीकार्य स्थगित गर्ने निर्णय गरिएको हो ।

खोजीको क्रममा  हराएकाको यो सिजनमा खोजी सम्भव नभएको उद्धार टोलीले जनाएको छ ।

गत कात्तिक ११ गते दोलखाको गौरीशङ्कर गाउँपालिका-९ अन्तर्गत रोल्वालिङ क्षेत्रमा पर्ने पाँच हजार छ सय ३० मिटर उचाइको यलुङ रि हिमाल आरोहणका लागि गाइड र आरोही गरी १५ जनाको समूह पुगेको थियो ।

कात्तिक १७ गते बिहान ४ बजे बेसक्याम्पबाट चुचुरोतर्फ प्रस्थान गरेका उनीहरू करिब ८ बजे शिखर नजिकै पुग्दा आकस्मिक हिमपहिरोमा परेका थिए ।

सोही दिनदेखि हराएका सात जनामध्ये मंगलबारबाट शुरू गरिएको खोज तथा उद्धार अभियानले आठ जनाको सकुशल उद्धार गरेको थियो । खोजीका क्रममा दुई विदेशीको शव फेला पारिएको भए पनि पाँच जनाको अवस्था अझै अज्ञात छ ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनबाट पासाङ किदर शेर्पा, रितन जाङ्बु शेर्पा, छिरिङ सोनाम लामा, पासाङ तेन्वा शेर्पा, ड्रिम डेस्टिनेसनका फुर्वा तेन्जी शेर्पा, र सिम्रिक एयरका दुई विदेशीसहित नौ सदस्यीय टोली खोजीका लागि खटिएको थियो ।

दोलखाका प्रहरी प्रमुख प्रहरी नायa उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोका अनुसार खोजी टोलीले कठिन मौसमका कारण अहिले खोज कार्य स्थगित हुने निर्णय गरेको छ । यो सिजनमा खोजी सम्भव नदेखिएकाले टोली फर्कन लागेको उनले जानकारी  दिए ।

खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली समेत सहभागी थियो । तर, भीषण हिमपात र उच्च जोखिमका कारण ती टोलीहरू पनि घटनास्थलसम्म पुग्न कठिनाई भएको थियो ।

सुरक्षा टोली गाउँसम्म पुग्न सके पनि त्यसभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिमपातका कारण टोली अघि बढ्न सकेन ।

गौरीशङ्कर संरक्षण क्षेत्रअन्तर्गत पर्ने यो हिमाल आरोहणका लागि पछिल्ला वर्षमा विदेशी आरोहीहरू आकर्षित हुँदै आएका छन् । तर, यलुङ रि क्षेत्र हाल भारी हिमपात र अस्थिर मौसमका कारण अति जोखिमपूर्ण मानिन्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.