Nidan Media

हङकङ सिक्सेसमा नेपालको शानदार जीत, भारत ९२ रनको विशाल अन्तरले पराजित

काठमाडौँ। हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत नेपालले आज (शनिबार) भारतलाई ९२ रनको विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा कुनै पनि विकेट नगुमाई १ सय ३७ रन को ठूलो योगफल तयार पारेको थियो। नेपालका लागि राशिद खानले सर्वाधिक ५५ रन, सन्दीप जोराले ४७ रन र लोकेश बमले अविजित ३१ रन को योगदान दिए।

नेपालले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै मात्र ४५ रनमा समेटिएको थियो। भारतका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२/१२ रन बनाएका थिए भने रोविन उथप्पा, दिनेश कार्तिक र सहबाज नदिमले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि बलिङमा राशिद खानले तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले समान दुई/दुई विकेट लिए।

जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो। यसअघि आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो। त्यस्तै हिजो (शुक्रबार) नेपाल अफगानिस्तानसँग पनि पराजित भएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.