काठमाडौँ । नेपाल स्काउट शुद्धीकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यलय परिसरमा धर्ना दिएको छ ।
समितिले शनिबार कार्यलयमा धर्ना दिएको हो । स्काउटको निर्देशक नियुक्तिका लागि शनिबार सर्टलिस्टमा परेकालाई अन्तर्वार्ताका लागि बोलाइएको थियो । कार्यालयभित्र अन्तर्वार्ता चलिरहँदा बाहिर समितिले धर्ना दिएको हो ।
धर्नामा प्रहरीसँग धकलाधकेल समेत भएको थियो । नेपाल स्काउट शुद्धीकरण समितको संयोजक देवदूत अधिकारीले निर्देशक पदका लागि गरिएको भ्याकेन्सी आह्वान नै गलत भएको बताए ।
बहालवाला निर्देशक हुँदाहुँदै नयाँ निर्देशकको लागि भ्याकेन्सी आह्वान गरिएको उनको भनाइ छ । उनले प्रमुख आयुक्तको विषयमा समेत अदालतमा मुद्दा विचराधीन रहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने बताए ।
निर्वाचित भएको प्रमुख आयुक्तलाई निःवर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निलम्वन गरेर चौधरीको नाईटेङ्गल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टीका लगाएर आयुक्त बनाएको उनको आरोप छ ।
उनले स्काउटभित्र भएका विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्य गर्नका लासग छानविन समितिले बनाएको प्रतिवेदन सार्वजानिक गर्नुपर्ने बताए । प्रतिवेदनको आधारमा दोषीलाई कार्बाही गर्नुपर्ने उनको माग छ ।
स्काउटका निःवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषद्को बैठकले आफूलाई प्रमुख आयुक्त पदमा निर्वाचन गरे पनि मन्त्री तेजुलाल चौधरीले एक वर्ष नपुग्दै हटाएको बताए ।
कानूनी प्रक्रिया नपुर्याई आफूलाई हटाएर देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाएपछि आफूले सर्वोच्चमा मुद्दा हालेको उनले जानकारी दिए । हाल अदालतमा उक्त मुद्दा चलिरहेको अवस्थामा निर्देशक भ्याकेन्सी निकालेर नयाँ नियुक्त गर्न नमिल्ने उनको जिकिर छ । विषम परिस्थितिमा पनि हतारहतार गरेर नियुक्त गर्न खोजिएको उनले दाबी गरे ।
उनले निर्देशकले राजीनामा दिएको भनिए पनि नयाँ निर्देशक चयन प्रक्रियामा समावेश भएको बताए । उनले विज्ञापन निकाल्दाखेरी पनि जालझेल गरेको आरोप लगाए ।
जोइन्ट सेक्रेटरी सरहको पदका लागि विज्ञापन आह्वान गरे पनि न्यूनतम् शैक्षिक योग्यता स्नातक तह राखिएको बताए । उनले आफ्नो मान्छे नियुक्ति गर्नका लागि शैक्षिक योग्यता घटाएको आरोप लगाए।
उनले हाल सर्ट लिस्टमा नाम निकालेको अर्पण कार्की परीक्षा हुनुभन्दा एक दिन अगाडिसम्म स्काउटको कार्यालयमा आउने गरेको आरोप लगाए । कार्की प्रमुख आयुक्त घिमिरे र निर्देशक रामप्रसाद भट्टराईको आफ्नै साथी रहेको उनको दाबी छ ।
उनले आफ्नै साथी भएपछि प्रश्नपत्र बाहिरिँदैन भन्ने प्रश्न समेत उठाए । उनले निर्देशक पदको लिखित परीक्षा र अन्तर्वार्ता रोक्नुपर्ने बताए । उनले राष्ट्रिय शतर्कता केन्द्रमा पनि आफूहरूले उजुरी दिएको जानकारी दिए ।





