Nidan Media

संसद पुनर्स्थापना गरेर जेनजीका जायज माग पूरा गर्नुपर्छ : डा. सुनील शर्मा

काठमाडौँ । नेपाली कांग्रेस नेता डा. सुनील शर्माले संसद विघटन नगरी जेन-जीका प्रतिनिधि र संसद भित्रका सक्षम सांसद मिलेर देशको विद्यमान समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पुकार र बुलन्द सञ्चारले संयुक्त रूपमा आयोजना गरेको “जेनजी विद्रोह र अबको निकास” शीर्षकको अन्तरक्रियामा नेता शर्माले अझै पनि बिग्रिहालेको अवस्था नरहेकाले जेनजीलगायत सबै दलका प्रतिनिधि मिलेर संसद पुनर्स्थापना गर्नुपर्ने स्पष्ट पारे । उनले यसो हुन नसके जेन-जीका जायज माग पूरा नहुने जिकिर गरे।

उनले भने, “म पनि सरकारको अंश थिएँ, तर जेन-जीहरू विरोधमा आउनुभन्दा पहिलेदेखि नै मैले संसदभित्र यो सरकारको विरोध गर्दै आएको थिएँ ।”

उनले विद्रोहभन्दा संवाद र समन्वयमार्फत अघि बढ्नुपर्ने खाँचो औँल्याए । उनले भने, “मण्डेला जेलबाट निस्किएपछि विद्रोहको बाटो रोजेका थिएनन्, उनले संवाद र सहमतिको बाटो अपनाए । हामीले पनि त्यही बाटो लिनुपर्छ ।”

डा. शर्माले विगतका गलत निर्णयहरूको जिम्मा पुराना पुस्ताले लिनुपर्नेमा जोग दिए । ‘पूरानाले देश लुटेका हुन्, त्यसको जिम्मा हामीले लिनैपर्छ। नेपाली कांग्रेसका नेताहरूले गरेका गल्तीहरूको जिम्मा म पनि लिन्छु,” उनले भने ।

राजनीतिक अनिश्चितताका बीच उनले थपे, “सबै मिलेर अघि बढ्नुपर्छ। तपाईंहरूलाई लाग्छ र अहिलेको अवस्था हेर्दा फागुन २१ मा चुनाव सम्भव छ ? यदि यही परिस्थितिमा चुनाव भयो भने म राजनीतिबाटै अलग हुन्छु।”

जेनजी अगुवा  रक्षा बमले लामो समयदेखि सत्तामा रहेका नेताहरूको कुशासन, भ्रष्टाचार र मनपरी प्रवृत्तिकै कारण देश आजको संकटमा पुगेको बताइन्।

बमले भनिन्, “लामो समयदेखि नेताहरूले देशलाई आफ्नो स्वार्थका लागि प्रयोग गरे, जसको परिणाम अहिलेको राजनीतिक अविश्वास र जनआक्रोश हो।”

उनका अनुसार अब देशलाई पुरानै अनुहारले होइन, जवाफदेही र पारदर्शी नेतृत्वले अघि बढाउन आवश्यक छ । उनले थपिन्, “अब नेपाली युवाले कुशासन होइन, नयाँ सोच, नयाँ अनुहार र जिम्मेवारी बुझ्ने नेतृत्व खोजेका छन्।”

बमले युवा पुस्ताले विद्रोहलाई नकारात्मक रूपमा होइन, सुधार र प्रणाली परिवर्तनको सकारात्मक कदमका रूपमा अघि बढाउनुपर्नेमा पनि जोड दिइन्।

अन्य वक्ताहरूले नयाँ पुस्ताको आवाजलाई राजनीतिक निर्णय प्रक्रियामा प्रभावकारी रूपमा समावेश गर्नुपर्नेमा जोड दिए।

सहभागीले विद्रोहलाई अन्तिम उपायका रूपमा होइन, संवाद र सुधारका अवसरका रूपमा बुझ्नुपर्ने खाँचो औंल्याए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.