काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गत तीन दशकमा उल्लेखनीय प्रगति हासिल भए तापनि सामाजिक विकासका क्षेत्रमा धेरै समस्या र चुनौती कायमै रहेको बताएका छन् ।
कतारको दोहामा मंगलबारबाट शुरू भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनअन्तर्गत सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्च स्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्ताे बताएका हुन् ।
गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ भएको उनले बताए ।
‘गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी र सामाजिक समावेशीकरण अमूर्त आदर्शमात्रै होइनन्, शान्ति सुव्यवस्था, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ पनि हुन्,’ उनले भने ।
राष्ट्रपति पौडेलले ८० करोडभन्दा बढी मानिस चरम गरिबीमा बाँचिरहेको, धेरै देशमा बेरोजगारी दर अझै उच्च रहेको, लाखौं मानिस मर्यादित कामको खोजीमा आफ्नो देश छोडिरहेका तथा पूर्ण, समान एवं अर्थपूर्ण समावेशीकरण र सहभागिता अझै प्राप्त हुन बाँकी रहेको बताए ।
उनले गरिबी निवारणलाई नेपालले उच्च प्राथमिकता दिएको समेत बताए । फलस्वरुप, उद्यमशीलता विकाससहित स्वदेशमै रोजगारीका अवसर सिर्जनाका गर्न प्रयास भइरहेको तथा सीप विकासमा लगानी गरी डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गरिरहेको उनले उल्लेख गरे ।
‘सामाजिक न्याय र समावेशीकरण हाम्रो संविधानको प्रमुख विशेषता हो, अनौपचारिक र स्वरोजगार कामदारलाई समेत समेट्ने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिरहेका छौँ’, राष्ट्रपति पौडेलले भने ।
उनले नीतिका प्रष्ट परिणाम देखिइसकेको बताउँदै सार्वजनिक सेवा, शिक्षालगायत सबै क्षेत्रमा महिला, दलित, आदिवासी जनजाति र अन्य सीमान्तकृत समूहको उपस्थिति उल्लेखनीय रूपमा बढेको बताए ।
‘यति हुँदाहुँदै पनि जीवनस्तर उल्लेखनीय रूपमा उकास्न, स्वदेशमै आकर्षक रोजगारी सिर्जना गर्न र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न थप कार्य गर्न आवश्यक छ,’ राष्ट्रपति पौडेलले भने ।
साथै, उनले एजेन्डा २०३० को तीव्रतर कार्यान्वयन गर्न र अति कम विकसित तथा जोखिममा रहेका मुलुकलाई आवश्यक सहयोग गर्न विश्वव्यापी ऐक्यबद्धता र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने पनि बताए । त्यसका लागि नेपाल विश्व समुदायसँग हातेमालो गर्न तयार रहेको राष्ट्रपति पौडेलले बताए ।
राष्ट्रपति कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा दोहामा यही कात्तिक १८ देखि शुरू भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुगेका हुन् । राष्ट्रपति पौडेल बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।




