काठमाडौँ । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको बैठकले नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र यसको चुनाव चिह्न पाँच कुने तारा हुने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।
उनले भने, ‘नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते हुनेछ । जसमा महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सबै दलले आपसी सहमति र समझारीमा कायम गर्नेछन्’, उनले भने, ‘नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको छ । यसको चुनाव चिह्न पाँच कुने तारा हुनेछ ।’
सापकोटाले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुका साथै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत् कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता रहेको बताए ।
‘लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता हो,’ उनले भने ।
उनले नयाँ पार्टीको एकता राष्ट्रिय महाधिवेशन छ महिनाभित्र गरिने पनि जानकारी दिए ।
‘केन्द्रीय समिति गठन आपसी सहमतिका आधारमा गठन गरिने छ । केन्द्रीय समितिमा संयोजक र सह-संयोजक पद हुनेछ’, उनले भने, ‘तलैसम्म, टोलैसम्म संयोजक र सहसंयोजकको व्यवस्था गरिएको छ ।’
उनका अनुसार पार्टीको मार्ग निर्देशित सिद्धान्त माक्सवाद, लेलिनवाद हुनेछ । उनले नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने बताए ।
उनले भने, ‘पार्टीको तत्कालीन कार्यनीति पुँजीवादी जनवादी क्रान्तिका उपलव्धिहरुको रक्षाका राष्ट्रिय स्वाधिनताको संरक्षण सुशाषन, सामाजिक न्याय, आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने छ ।’
नयाँ पार्टीको आन्दोलनको स्वरुप आन्दोलन मूलत: शान्तिपूर्ण हुने भन्दै सापकोटाले परिस्थिति अनुसार ससद, सडक र सरकारलगायत आवश्यकता अनुसारका सबै मोर्चाहरू आन्दोलनको मोर्चा हुने बताए ।




