काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम बढिरहेको हो ।
कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाले ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका छन् ।
वाणिज्य बैंकहरू मात्रै ५० खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार विकास बैंक तथा फाइनान्सले यो अवधिमा सात खर्ब ५८ अर्ब निक्षेप संकलन गरेका छन् । उनीहरूले कर्जा प्रवाह भने छ खर्ब २३ अर्ब गरेको तथ्यांकले देखाउछ । यो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसीयो) भने ७४ दशमलव २५ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले कर्जा दिन सक्ने क्षमता अझै पनि धेरै रहेको रहे पनि कर्जा प्रवाह सुस्त छ ।
पछिल्लो समय कर्जाको माग निरन्तर घट्दो क्रममा छ । बैंकहरूले कर्जाका लागि निर्धारण गर्ने औसत आधार दर महिनैपिच्छे घट्दै आएको छ । कात्तिक महिनाको लागि बैंकहरूको औसत ब्याजदर ५दशमलव६७ प्रतिशत निर्धारण भएको छ । यो ब्याजदर निकै कम हो ।
यसमा निश्चित प्रतिशत प्रिमियम थप गरेर बैंकहरूले कर्जा लगानी गर्दै आएका छन् । पछिल्लो समय आधार दरमा निकै न्यूनमात्रै प्रिमियम थप गरेर बैंकहरूले कर्जा लगानी गर्दै आएका छन् । तर पनि कर्जा प्रवाह बढ्नै सकेको छैन् ।
खासगरी जेन-जी आन्दोलनमा निजी क्षेत्रका घरनामाथि छानिछानी आक्रमण भएपछि लगानीकर्ता त्रसित बन्दै आएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघसहितका निजी क्षेत्रका छाता संगठनले शान्ति सुरक्षाको प्रत्याभूति र लगानीकर्ताको मनोबल उठाउने खालका कार्य गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएका छन् ।
बैंक तथा वित्तीय संस्थाबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप तानिरहेको छ । पछिल्ला दिनमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थामा लगानी योग्य रकम थुप्रिरहेको छ ।
यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामो समयका लागि मौद्रिक उपकरणको प्रयोग गरिरहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप एक सय ७५ दिनका लागि खिचेको थियो भने अघिल्लो साताको बुधवार पनि राष्ट्र बैंकले बजारबाट एक सय ७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो ।
त्यसअघि राष्ट्र बैंकले यतिधेरै अवधिका लागि पछिल्ला वर्षमा निक्षेप उठाएको थिएन । बैंकहरूले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट नदेखाएपछि राष्ट्र बैंक दीर्घकालीन रुपमै निक्षेप व्यवस्थापनमा लागेको राष्ट्र बैंकका अधिकारीहरूले बताउँदै आएका छन् ।




