काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस ९ गतेदेखि पुरुष राष्ट्रिय लिग काठमाडौँमा आयोजना गर्ने भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार एन्फा र क्लबबीच सम्पन्न बैठकले आगामी पुस ९ गते राष्ट्रिय लिग गर्ने सहमति भएको हो ।
एन्फाको गत साधारण सभा बैठकले आगामी पुस ९ गतेदेखि होम एन्ड अवे अवधारणामा शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने उल्लेख गरेको थियो ।
तर क्लबले तयारी नपुग्ने र बजेट पनि अभाव रहेको भन्दै उक्त प्रस्तावमा लिग खेल्न अस्वीकार गर्दै आएका थिए । अन्तत: यस वर्ष पनि नेपालको शीर्ष डिभिजन लिग नहुने भएको छ ।
पछिल्लो पल्ट २०७९ सालमा शीर्ष डिभिजन लिग भएको थियो । एन्फाभित्र आन्तरिक राजनीतिका कारण त्यसयता लिग हुन सकेको छैन ।
यसपल्ट एन्फाले लिग गर्ने भन्दै तयारी गरे पनि नहुने भएको छ । सोमबार बसेको एन्फा र क्लब बसेको बैठकले अर्को वर्षको पुस ३ गते शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको छ । अब यस वर्ष राष्ट्रिय लिग हुने भएको छ ।
राष्ट्रिय लिगमा कुल १० क्लबले प्रतिस्पर्धा गर्नेछन् । गत (२०७९) ‘ए’ डिभिजन लिगको शीर्ष ६ क्लब र हेटौँडामा आगामी १९ गतेदेखि शुरू हुने एन्फा प्रिसिडेन्ट लिगका शीर्ष चार टोलीले राष्ट्रिय लिग खेल्ने भएका छन् ।
यसैले शीर्ष डिभिजन लिगका १४ मध्ये आठ क्लब राष्ट्रिय लिगमा हुने छैनन् । राष्ट्रिय लिग च्याम्पियनले एएफसी क्लब च्याम्पियनशीप लिग खेल्ने सोमबारको बैठकले निर्णय गरेको छ ।
				
															




