Nidan Media

गौरीशंकरमा हिमपहिरोमा परेर तीन पथप्रदर्शकको मृत्यु, आठ जना बेपत्ता

दोलखा । गौरीशङ्कर गाउँपालिका वडा नं ९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै साेमबार बिहान हिमपहिरोमा परेका छन् ।

हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह साेमबार बिहान ९ः०० बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरूको अवस्था अझै एकिन हुन सकेको छैन ।

आज बिहानैदेखि उद्धारका लागि प्रशासनलाई आग्रह गरे पनि उद्धारमा ढिलाइ भएको वडाध्यक्ष निमगेली शेर्पाले बताए ।

हेलिकोप्टर उडानका लागि रोल्वालिङ क्षेत्र प्रतिबन्धित भएकाले प्रशासनले अनुमतिमा ढिलाइ गर्दा थप समस्या भएको शेर्पाको भनाइ छ ।

हिमपहिरोमा परेकाको खोजीको प्रयास भइरहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीनहरूको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाए पनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.