ललितपुर । नेपाली कांग्रेस सुधार अभियान (अन्डर-४०) ले पार्टीको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेपछि पार्टीको मुख्य कार्यालयमा तनाव उत्पन्न भएको छ ।
उनीहरू सुरक्षा घेरा तोडेर प्रदर्शन गर्दै पार्टी मुख्यालयको गेटसम्म पुगेर ताला लगाउन सफल भए । पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमा प्रहरी तैनाथ गरिए पनि प्रदर्शनकारीको समूह गेटसम्म पुग्न सफल भए ।
पार्टी कार्यालयको प्राङ्गण प्रवेश गर्ने गेट बन्द गरिएपछि प्रदर्शनकारी बाहिरै बसेर नाराबाजी गरिरहेका छन्। उनीहरूले नियमित महाधिवेशन र युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् ।
उनीहरूले नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गर्नसमेत माग गरे । आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगर्न पनि उनीहरूले चेतावनी दिएका छन् ।
सो क्रममा नेविसंघ नेता भुवन भट्टले आफूहरूले नेपाली कांग्रेस सुधार अभियान चलाएको बताए । नवयुवाको परिवर्तनको आकांक्षालाई नजरअन्दाज गर्न नमिल्ने भन्दै उनले समयसापेक्ष रूपमा आफूलाई परिवर्तन गर्दै जानुपर्नेमा जोड दिए ।
जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगजनी भएपछि कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाइएको छ। सुरक्षाकर्मीले चेक जाँच गरेर मात्रै पार्टी कार्यालयमा प्रवेश गर्न दिएका छन् ।




