पाेखरा । धनुषामा शनिबार साँझ सवारी दुर्घटनामा हुँदा एकै परिवारका तीनसहित चार जनाको घटनास्थलमै ज्यान गएको छ । सोही दुर्घटनामा दुई बालबालिका घाइते भएका छन् ।
मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं १ भरतपुरका वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीय नीषा मगर र अटोरिक्सा चालक ४० वर्षीय डम्बर राई छन् ।
यस्तै, १४ वर्षका शीतल पुर्वछाने मगर र ९ वर्षका रोशन पुर्वछाने मगर घाइते भएकामा जनकपुरधामस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार विराटनगरबाट धनगढी जाँदै गरेको सुप्र०१-००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश २-०१-००१ ह १२३० नम्बरको अटोलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं १ वीरेन्द्र बजारमा ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




