पोखरा । रुकुम पूर्वमा शनिबार साँझ अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भूमे गाउँपालिका वडा नं १ लुगुमकी ३० वर्षीया रेजीना घर्ती र २५ वर्षीया फिसोल्टी घर्ती छन् ।
प्रहरीका अनुसार मृत रेजीना र फिसोल्टी एकै परिवारका जेठानी-देउरानी हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल रुकुमकोटमा पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
सोही दुर्घटनामा लुगुमकै २६ वर्षीया प्रतीक्षा बुढा र उनका ११ महिनाको छोरा सुभम बुढा, सोही ठाउँका २५ वर्षीया ब्युटी पुन र ३ वर्षका सक्षम घर्ती छन् ।
घाइतेहरूको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्लाको लुगुम गाउँबाट ब्राहतालतर्फ जाँदै गरेको अटो भूमे गाउँपालिका वडा नं १ स्यावालस्थित मध्यपहाडी राजमार्गमा सो दुर्घटना भएको हो ।
दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




