Nidan Media

देशका विभिन्न स्थानमा वर्षा र हिमपात जारी, सुन्दरहरैँचामा अति धेरै भारी वर्षा मापन

काठमाडौँ । मोन्था चक्रवातका कारण भएको बदलीपछि नेपालमा वर्षा हुन अझै छाडेको छैन ।

आज दिउँसोदेखि मौसममा सुधार हुने भनिए पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा शनिबार बिहान झन् ठूलो झरी परेको छ ।

निरन्तरको वर्षाले जनजीवन प्रभावित भएको छ भने चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने जनाएको छ ।

कोशी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा गण्डकी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रही नेपालको मौसम प्रभावित भइरहेकोमा शुक्रबार रातिबाट सो प्रभाव कम भइ क्रमिक रुपमा मौसममा सुधार हुने देखिएको महाशाखाले जनाएको भए पनि अझै वर्षाकोप्रभाव उत्तिकै छ । साथै नेपालमा हाल पश्चिमी वाय र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

 सबैभन्दा बढी बर्षा सुन्दरहरैँचामा

शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२दशमलव४ मिलिमिटर वर्षा भएको छ । यो अति धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए ।

वर्षा जारी रहेकाले पूर्वमा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा झापामा १७५ मिलिमिटर वर्षा भएको छ भने इलाममा पनि १५८ मिलिमिटर वर्षा भएको छ ।

शुक्रबार राति पौने ११ बजेसम्मको मौसम विज्ञान विभागको रेकर्डअनुसार गोरखा जिल्लामा पनि १९० मिलिमिटर वर्षा भएको छ ।

यस्तै सप्तरीमा १५६, उदयपुरमा १०२, मनाङमा ११५, सुनसरीमा ८२, नुवाकोटमा ८९, लमजुङमा ८२ मिलिमिटर वर्षा भएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.