Nidan Media

आज हरिबोधिनी एकादशी पर्व मनाइँदै

पोखरा । कात्तिकशुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।

हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध तथा माङ्गलिक कार्य नगरिने परम्परा छ। सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ। हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ।

तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ। तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। तुलसीको सुगन्धले १० दिशा पवित्र हुन्छ भनिन्छ। तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्।

कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ। ‘गरुडपुराण’मा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्छ।

आजका दिन विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ। रात्रिमा ’गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ। यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी एघार वटालाई जित्न उपयोग गरिने बताइन्छ । यसका लागि चार महिनासम्म उपासना गरेर श्रद्धा भक्तिसाथ हरिबोधिनी एकादशीका दिनमा भगवान् विष्णुको विशेष पूजा गर्दा ११ वटै जाग्छन् भन्ने विश्वास छ ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ। यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ। आजको ठूलो एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.