पोखरा । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गर्दै आइरहेको बताएका छन्।
पोखरास्थित प्रहरी कल्याण कोष नमुना पेट्रोल पम्पको भर्चुअल रुपमा उद्घाटन गर्दै उनले गुणस्तरीय इन्धनको माध्यमबाट नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।
प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी शान्ति सुरक्षा तथा कानून कार्यान्वयनमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको भन्दै सो भरोसालाई जीवन्त बनाई राख्न समायनुकुल परिवर्तित आम जनअपेक्षा अनुरूपको नागरिकमैत्री कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।
कार्यक्रममा प्रहरी महानिरीक्षको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख दिनेश कुमार आचार्यले नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण अवलोकनसमेत गरे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्य, नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापालगायतले बोलेका थिए ।
कार्यक्रममा प्राविधिक एवं प्रहरी नायव उपरीक्षक चिरञ्जिवी प्रताप महतोले निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल प्रहरी कल्याण कोषको कुल नौ करोड ९४ लाख ७४ हजार छ सय ७६ रूपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारको निर्माण कार्य सम्पन्न भएको हो ।




