पोखरा । समाजसेवी एवं महिला उद्यमी सिद्धि गौचनको १५औँ स्मृति दिवस मनाइएको छ ।
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले आयोजना गरेको कार्यक्रममा महिला सशक्तीकरणका घरेलु उद्योग, सिलाइबुनाई, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, पाककला, साहित्य, संगीतलगायतका विविध आयामका बारेमा गौचनको स्मरण गरिएको छ ।
सिद्धि गौचन स्मृति अक्षयकोषका संस्थापक विश्वमोहन गौचनले समाजमा सन्तानको उज्ज्वल भविष्यका लागि बाबुआमाले पु¥याएको योगदान जस्तै हरेक पुरुषलाई सफल बनाउन श्रीमतीको महत्वपूर्ण भूमिका रहने धारणा राखे ।
उनले सिद्धिको योगदानलाई जीवन्त राख्न कोष स्थापना गरेकोमा आफन्तजनको पनि सहयोग रहेको बताए । कोषको रकम वृद्धि गर्नका लागि छोरा लेलिनकुमारबाट प्राप्त ५० हजार रुपैयाँ नगदसमेत हस्तान्तरण गरे । उक्त अवसरमा एक दाताले कोष वृद्धिका लागि गोप्य १५ हजार सहयोगकोसमेत घोषणा गरे ।
ईन्द्र-हुमा वाङ्मय कोषका संस्थापक सविन जिसीले समाजमा यस्ता कार्यले हरेक व्यक्तिलाई सत् मार्गमा अघि बढ्न प्रेरणा दिने बताए ।
थकाली सेवा समिति गण्डकीका अध्यक्ष तेजेन्द्र तुलाचनले थकाली समाजको क्षेत्रीय भवन निर्माणमा सिद्धि गौचनको योगदान अतुलनीय रहेको भन्दै उहाँको स्मृतिसभा समाजकै भवनमा गर्न सुझाए ।
उनले थकाली समुदायले आफ्ना बन्धुलाई परेको खाँचो टार्न हिजो अन्नबालीका माध्यमबाट सहकार्य हुँदै आएकोमा हाल उक्त परम्परा पैसाका माध्यमबाट अघि बढ्दै आएको जानकारी गराए ।
समारोहमा थकाली सेवा समितिका निवर्तमान अध्यक्ष ई. रुजिन्द्र तुलाचन, पोखरा प्रज्ञा-प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकाल, पुतलीबजार प्रज्ञा-प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा, लुम्ले कविता गाउँ समिति अध्यक्ष भरत देवकोटा, साहित्यकार अम्बिकाप्रसाद भट्टराई, उमाकान्त पोखरेल, लाल कार्की अञ्जान, असफल गौतमलगायतले सिद्धि गौचनको विविध आयाममाथि चर्चा गरेका थिए ।
सभाध्यक्ष कृष्णप्रसाद पौडेलले गौचन परिवारबाट स्थापित अक्षयकोषको आर्जित व्याजबाट डा. वसन्त ताम्रकार, रामकली खड्का र हिमाली सांस्कृतिक परिवार सम्मानित भइसकेको जानकारी दिए ।
सोही समारोहबीच पद्मराज ढकालले लुम्ले कविता पार्क निर्माणका लागि ११ हजार रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरे ।




