पाेखरा । चितवनमा आज बिहान सवारी दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
गौरबाट काठमाडौँ आउँदै गरेकाे बस आज बिहान करिब पौने २ बजे भरतपुर महानगरपालिका वडा नं ९ टिकौली जङ्गलमा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।
सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा पुर्याइएको छ। घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए ।
इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना६ख ८१३ नम्बरको ट्रकमा बाप्र ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौँ आउँदै गरेको बाप्र०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किएको थियो ।
बस सडकमा पल्टिएको थियो । दुर्घटनाका कारण केही समय अवरुद्ध सडक अहिले सञ्चालनमा आइसकेको छ।




