पोखरा । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्यप्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको छ । सो प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारबाट मौसममा क्रमिक रूपमा सुधार हुने बताइन्छ ।
जसको प्रभावले हाल देशभर साधारणतयादेखि अधिकांश बदली रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशका केही स्थान तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थान हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ । गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आफ्नो नियमित बुलेटिनमा उल्लेख गरेको छ ।
गण्डकी, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बाँकी उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना छ । गण्डकी, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।
आज राति कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थान, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी र मधेस प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।
गण्डकी, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपात हुनुका साथै कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा ती क्षेत्रमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन, सडक तथा हवाई यातायातका क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




