पाेखरा । मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई टाइब्रेकरमा पराजित गरेको छ ।
भारतको सिक्किमस्थित पाल्जोर रङ्गशालामा बुधबार सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतलाई टाइब्रेकरमा ३-० ले हराएको हो ।
टाइब्रेकरमा नेपालका सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरेपछि नेपाल विजयी भयो ।
नेपालका गोलकिपर अञ्जना रानामगरले भारतको पहिलो र तेस्रो पेनाल्टी सजिलै रोकिन् । दोस्रो पेनाल्टी भने बाहिरिएको थियो ।
यसअघि दुवै टोलीले खेलको निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा खेलेका थिए ।
खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो ।
खेलको ३०औँ मिनेटमा भारतकी सौम्या गुगुलोथले गोल गरिन् ।
त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा नेपालकी अनिता बस्नेतले बराबरी गोल फर्काएकी थिइन्।





