काठमाडौँ । जीवित देवी कुमारीले दोलखा भीमेश्वरको शिलामा पसिना आएको तर कोही कसैले त्यसप्रति ध्यान नदिई पूजा नगरेका कारण राष्ट्रमा अनिष्ट भइरहेको जानकारी गराएपछि राष्ट्रपति कार्यालयबाट क्षमा पूजा गरिएको बताइएको छ । विगतमा विशेष पूजा हुँदै आए पनि यस पटक कोरा पूजासहितको क्षमापूजा र रुद्राविशेष मात्रै गरिएको हो ।
क्षमा पूजामा राष्ट्रपति कार्यालयको तर्फबाट उपसचिव ईश्वरीप्रसाद पाण्डे, सहायक स्वकीय सचिव सुशिल तिमिल्सिना र काठमाडौँस्थित कुमारी घरका अध्यक्ष गौतम शाक्यसहितको टोली सहभागी थिए । सो पूजाको क्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित सुरक्षाकर्मी पनि थिए ।
क्षमा पूजा व्यवस्थापनमा भीमेश्वर नगरपालिका वडा नं २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, भीमेश्वर गुठीका अध्यक्ष भरत श्रेष्ठलगायतका गुठियार सहभागी थिए ।
भीमेश्वरको शिलामा पसिना आउँदा राष्ट्र र जनतामाथि अनिष्ट हुन्छ भन्ने मान्यता छ । भीमेश्वरका शिलामा कहिले पसिना आयो भन्ने केही बताइएको छैन तर राष्ट्रमा अनिष्ट भई जेनजी आन्दोलन मच्चिँदा ठूलो जनधनको क्षति भएको साँचो हो ।
भीमेश्वरको शिलामा पसिना आउनेबित्तिकै राष्ट्रप्रमुखको तर्फबाट बलि पूजा र क्षमा पूजा गर्ने परम्परा रहेको भीमेश्वर गुठी व्यवस्थापन समिति सचिव राजेन्द्र नारायण श्रेष्ठ बताउँछन् ।
दोलखा भीमेश्वरको शिलामा पसिना आउँदा त्यसलाई पुछिएको कपासलाई ‘महाप्रसाद’ को रूपमा राष्ट्रपतिलाई पठाउने गरिन्छ । त्यसपछि राष्ट्र प्रमुखको तर्फबाट कालो बोकाको बलिसहित क्षमा पूजा गर्ने परम्परा छ ।
भीमश्वरको रहस्य
काठमाडौँबाट करिब एक सय ४० किलोमिटर दुरीमा रहेको दोलखा सदरमुकाम चरिकोटबाट चार किलोमिटर पूर्वतर्फ भीमेश्वर मन्दिर छ । सो मन्दिरभित्र रहेको भीमसेनको मूर्ति ‘दोलखा भीमसेन’ का नामले चर्चित बनेको हो ।
चिल्लो खरीको पत्थरबाट बनेको उक्त शिलामूर्ति त्रिभुजाकार छ । यसलाई भीमेश्वर, भीमसेन वा भैरवको रुपमा पनि पुजिन्छ । भिमसेन पाँच पाण्डवमध्येका माहिला भाइ हुन् । महाभारत युद्धमा महत्वपूर्ण भूमिका खेलेका उनी साहसी र पराक्रमी योद्धाका रुपमा चिनिन्छन् ।
भीमसेनलाई भगवान शिवकै अवतारको रुपमा समेत मान्ने गरिएको छ । त्यसैले यहाँ पशुपतिको रुपमा रुद्री पूजा गर्ने गरिएको छ । साथै, भीमसेन, भैरवको रुपमा बलीपूजा समेत गरिन्छ । यो प्रचलन कहिलेदेखि चलिआएको भन्ने एकिन छैन । बलीपूजाको बेला महादेव शिव चुडामणिमा (दोलखा भीमसेन चुडामणी) गएर बस्नुहुन्छ र भीमसेन भैरवले मात्र बलीपूजा गर्नुहुन्छ भन्ने मान्यता छ ।
भीमसेनलाई व्यापारीको इष्टदेवताको रुपमा समेत पुजिँदै आएको छ । सो मन्दिरमा पूजा गर्दा व्यवसायमा विघ्न-बाधा हट्ने र सफलता प्राप्त गर्न सकिने मान्यता छ । यहाँ भीमसेनको सामान्यदेखि ठूला पञ्चवलीका पूजासमेत गरिन्छ ।
पाँच पाण्डव एक वर्ष गुप्तबास बस्ने समयमा मन्दिर नजिकै बसेर गौरीशंकरको प्रार्थना गरेको किंबदन्तीसमेत छ । त्यस समय पाँच पाण्डवले प्रयोग गरेको सांकेतिक भाषा नै दोलखाका नेवार समुदायको स्थानीय भाषा भएको बताइन्छ ।
यो भीमेश्वर भीमसेनको मूर्ति कहिले र कसले स्थापना गरेको हो भन्ने तथ्य पत्ता लागेको छैन । भीमसेनको मूर्तिसँगै उनकी आमा कुन्ती, पत्नी द्रौपदी, भाइहरू नकुल र सहदेवका शिला छन् । पाँच पाण्डवमध्येका युधिष्ठिर र अर्जुन भने यहाँ अनुपस्थित छन् ।
यता, नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं पूर्व बडानायब गुरु प्रा.डा. माधव भट्टराई शिलामा आउने पसिनाले अनिष्टको संकेत गर्ने बताउँछन् ।
जब प्रकृतिमा केही उथलपुथल हुन आँट्छ, वा जब भगवान मानिससँग क्रुद्ध र दुखित बन्नुहुन्छ, त्यसबेला उहाँले विभिन्न ढंगबाट आफ्नो प्रतिक्रिया जनाउने प्रा.डा भट्टराईको भनाइ छ । यस्तो प्रतिक्रिया भीमेश्वर मन्दिरमा रहेका मूर्तिमा स्पष्ट देखिने उनको भनाइ छ ।
अहिलेका मान्छेले हाँसोमा उडाउँछन्, तर यो सत्य हो । मूर्तिबाट पसिना आउने मात्र होइन, मूर्ति रुने–कराउने, हिँड्नेसमेत गरेको उनको भनाइ छ ।
प्राडा भट्टराईका अनुसार ०५७ सालमा पसिना आउँदा ०५८ सालमा दरबार हत्याकाण्ड भयो । ०७२ सालको भूकम्पअगाडि पनि पसिना आएको थियो ।
उनी भन्छन् – यो विषयमा कसैलाई पत्यार छैन भने दोलखा गएर अध्ययन गर्दा राम्रो हुन्छ । त्यहाँका बुढापाकासँग सोध्दा हुन्छ । हावादारी भनेर मात्रै भएन ।
भट्टराई विभिन्न किस्सा सुनाउँदै भन्छन्, – मूर्ति अचानक कुनै बेला पट्ट फुट्छ । त्यसै पनि फुट्न सक्छ भन्छन् । तर, त्यो होइन । भगवानले पीडा सहन सक्नुभएन भने त्यसरी फुट्ने हो । यो नेपालीका लागि मात्र नभएर विश्वकै नागरिकका लागि पूर्वसंकेत हो । किनकी नेपाल भनेको संसारको शिर हो । शिरले संसारलाई सञ्चालन गर्छ नि, त्यसैगरी नेपालले पनि विश्व हाँक्न सक्नुपर्ने थियो । तर, हामीले अहिलेसम्म आफैंलाई चिन्न सकेका छैनौं ।
भिडियाे





