काठमाडौँ । नेपाल संवत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
यस संवत्लाई विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।
राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरूआत गराएका थिए।
लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरू भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतकाे रूपमा चलेको थियो। नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ।
यो संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरूपमा मनाउने गर्छन्।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत् चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।
कार्तिककृष्ण औँशीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिकशुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरूआत गर्ने परम्परा काठमाडौँमा अझै पनि प्रचलनमा छ।





