काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेकी हुन् ।
आफूलाई देखाएर निरन्तर प्रचण्ड र पार्टीविरुद्ध योजनावद्ध रुपमा प्रहार भइरहेको भन्दै उनले राजीनामा दिएको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्, ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु ।’
उनले आफू पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने बताएकी छन् ।
सचिवालयमा रहँदा पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति उनले आभार व्यक्त गरेकी छन् ।
प्रचण्ड र गंगाकाे सम्पत्तिमाथि केही दिन अघिदेखि सरकारले छानविन प्रक्रिया अघि बढाएकाे छ । यसप्रति प्रचण्डले आपत्तिसमेत प्रकट गरिसकेका छन् ।
यस्ताे छ गंगाकाे फेसबुक स्टाटस
नमस्कार
मेरा बारेमा पछिल्लो समयमा बिभिन्न संचार माध्यममा आएका भ्रामक समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको छ । म, बुवा (नेकपा माओवादी केन्द्रका संयोजक कमरेड प्रचण्ड) को सचिवालयमा भाइ प्रकाश दाहालको देहवसान पछि मम्मी सीता दाहाल बिरामी हुनुभएको अवस्थामा जिम्मेवारी लिएर आए । मम्मीको हेरचाह पनि गर्नुपर्ने र भाइ प्रकाशले निभाउँदै आएको भुमिकामा रहेर अध्यक्षलाई सहयोग गर्न पार्टी नेताहरुको सल्लाहमा सचिवालयमा रहेर निस्वार्थ भावमा पार्टी आन्दोलन र बुवाको लागि आफुले सकेको सहयोगको कोशिस गरिरहे । यस दौरानमा सवैको भावना अनुसार काम गर्न सकिन होला त्यसका लागि आत्मआलोचित हुँदै यति चाही म गर्वका साथ भन्छु मैले आफ्ना लागि सोचेर कहिले पनि काम गरिन । सधै सहयोगीका रुपमा राम्रो गर्ने कोशिस गरिरहे। तर दुख लाग्छ, यो ठाउ नै त्यस्तै होकी जति राम्रो गर्छु भन्दा पनि, जति नै बिवादरहित भएर काम गर्छु भन्दा पनि बिवादमा त परिहालिने रहेछ। । म, मेरा दिदीहरू र भाइलाई महान जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएका कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागिरहियो। कुप्रचार र भ्रामक सूचना दिनेहरूले मेरा बारेमा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेका छन्। कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन । साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो । अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।
निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु । पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु।
अन्तमा, दिपावलीको दिप जस्तै तपॉईहरुको जीवन उज्यालो बनोस्, सबैमा दिपावली, छठ, नेपाल संवतलगायत पर्वको हार्दिक शुभकामना, धन्यवाद ।