पाेखरा। यस वर्ष तिहारको समयमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले तिहार विशेष मौसम बुलेटिन जारी गर्दै देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुन सक्ने तथा पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षा र उच्च हिमाली भू-भागमा हल्का हिमपात को समेत सम्भावना रहेको उल्लेख गरेको छ।
लक्ष्मी पूजा (कार्तिक ३) का दिन देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ।
औँसी (कार्तिक ४) मा पनि देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यस दिन कोशी, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
गोवर्धन पूजा (कार्तिक ५) का दिन देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्की हल्का वर्षा वा हिमपातको सम्भावना छ।
अन्तिम दिन भाइटीका (कार्तिक ६) मा कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा हुनेछ।
महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।