पाेखरा। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आइतबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। आज त्रयोदशी तिथि परेकाले आज यो पर्व मनाउन लागिएको हो।
वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा यो दिवस मनाइन्छ।
वैदिक सनातन हिन्दू ग्रन्थमा देव र असुरले समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा गरिएको छ।
आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन्। काठमाडौँको नरदेवीमा तत्कालीन राजकीय आयुर्वेद महाविद्यालयको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो, जुन अहिले विसं २०२९ देखि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा कीर्तिपुरमा सञ्चालनमा छ। आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा विसं २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा मनाउन थालिएको हो।
धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर र निजी क्षेत्रका आयुर्वेद अस्पतालहरूमा समेत विविध कार्यक्रम गरी मनाइँदै छ।
हालैका वर्षहरूमा कोरोना भाइरस एवं डेङ्गु रोगबाट बच्न मानव शरीरमा रोगप्रतिरोधी क्षमता बढाउनसमेत आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी प्रमाणित भएको छ।
सिंहदरबार वैद्यखाना विकास समितिका अनुसार विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढेको छ। विशेषगरी रोगप्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोको माग अत्यधिक तीव्र भएको पाइएको छ।