काठमाडौँ । ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग गरेका छन् ।
उनले आफूहरूको यो माग पूरा नहुँदासम्म आफूहरू चुनावमा नजाने स्पष्ट पारेका छन् ।
आफूहरूको बटमलाइन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली रहेको भन्दै ढुंगानाले यो पूरा नभई चुनावमा जान तयार नभएको बताए ।
‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो मुख्य माग हो, त्यो माग सुन्नैपर्छ । यो बिना हामी कतै जानेवाला छैनौँ,’ ढुंगानाले स्पष्ट पारे ।
ढुंगानाले अहिलेको अवस्थालाई ‘भाँडभैलो’ नभई ठोस योजनासहितको विकासको दिशामा अघि बढ्नुपर्ने समयको माग भएको बताए । उनले भने, ‘हामी भाँडभैलो मच्चाउन आएका होइनौँ । विकास ल्याउन जे जे गर्नुपर्छ, त्यो गर्ने हो,’ उनले भने ।
देशको समृद्धि र अग्रगामी परिवर्तनका लागि अब विकासको राजनीतिमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनले भाद्र २३ र २४ मा भएको ऐतिहासिक विद्रोहमा ७६ जनाको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबैले गम्भीर बन्नुपर्ने बताए ।
ढुंगानाले अब क्रान्तिको होइन विकासको युग शुरू भएको समेत उल्लेख गरे । ‘देशका लागि लड्न एकदमै जरुरी छ । अहिले जे भयो, भयो एक लेबलको क्रान्ति आयो, अब विकास आउँछ । हामी क्रान्तिकारी होइनौँ, विकासवादी हौँ,’ ढुंगानाले भने ।
उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिलाउनुपर्नेमा जोड दिए ।
‘तीन करोड नेपालीमा ८० लाख नेपाली छुटाएपछि देश कतातिर जान्छ ? देशको मुख्य आम्दानी स्रोत रेमिट्यान्स हो । रगत, पसिना बगाएर विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार नदिई निर्वाचनमा जानु अन्याय हुनेछ,’ उनले भने ।