Nidan Media

तिहार शुरू, आज धनतेरस

पोखरा । हिन्दू नेपालीको दोस्रो महान पर्व तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा शुरू भएको छ । प्रत्येक वर्ष कार्तिककृष्ण त्रयोदशीदेखि कार्तिकशुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ ।

आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व शुरू भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिककृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्नेछ ।

विशेषगरी दीपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ । धन्तेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन पनि छ । धन्तेरसको दिन कमलको पुष्पमा बसेकी माता लक्ष्मी र गणेशको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ ।

धन्तेरसको अवसरमा जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ ।

धनतेरसको दिन किनेको सामान घरको पूर्व उत्तर दिशा लगेर राख्नुपर्दछ । यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिँदैन । अतः आफ्नू लागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेर पनि प्रसन्न हुने मान्यता रहेको छ ।

धन्तेरसको दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडी कमल गट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्ने मान्यता पनि रहि आएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.