पाेखरा । नेपाल शतप्रतिशत नतिजासहित उपाधि विजेता बन्दै टी-२० विश्वकपमा पुगेको छ । ओमानको मस्कटमा आयोजना भएको एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा सबै खेल जितेर उपाधिसहित नेपाल भारत र श्रीलंकाको आयोजनामा आगामी फेब्रुअरीमा हुने विश्वकपमा छनोट भएको हो ।
सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
२१२ रनको चुनौती पछ्याएको सामोआले ७ विकेटको क्षतिमा ८७ रनमात्र बनाउन सक्यो । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए ।
करण केसी, रोहित पौडेल र सन्दीप लामिछानेले १-१ विकेट लिए ।
यसअघि खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा यो प्रतियोगिताकै सर्वाधिक २११ रन बनायो । यो प्रतियोगिताकै यो दोस्रो उच्च योगफल हो ।
नेपालका लागि आसिफ शेखले ४१ बलमा ६९ तथा दिपेन्द्र सिंह ऐरीले ३३ बलमा ५३ रन बनाए । पहिलो विकेटका लागि आसिफसँग ६३ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेल १५ बलमा १७ रन बनाए ।
पाँचौँ विकेटका लागि अविजित ५१ रनको साझेदारी गर्ने क्रममा लोकेश बलले करियरकै उत्कृष्ट १२ बलमा अविजित रहँदै ३९ रन बनाए भने कप्तान रोहित पौडेलले १२ बलमा २१ रन बनाए ।
जितसँगै नेपाल १० अंकसहित शीर्ष स्थानमा रहेर उपाधि जित्यो । ओमानले जापानमाथि सहज ९ विकेटको जित निकाल्दै ८ अंकसहित तालिकाको दोस्रो स्थानमा रह्यो ।
सुपर सिक्समा रहेका छ मध्ये शीर्ष तीन टिमले आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा भाग लिन पाउने छन् ।
सोअनुसार ६ अंकबाट तेस्रो स्थानमा रहेको यूएई पनि विश्वकपमा पुगेको छ ।
कतार, जापान र सामोआ बाहिरिएका छन् । कतारको ४ अंक रह्यो । जापानको २ तथा सामोआ अंकविहीन रह्यो ।
नेपालले छनोटका यसअघिका सबै खेल जितेको थियो । समूह चरणमा कुवेत र जापानलाई तथा सुपर सिक्समा यूएई, कतार र ओमानलाई हराएको हो ।