Nidan Media

उपाधिका लागि सामोआलाई हराउनैपर्ने दबाबमा नेपाल

पाेखरा । नेपालले उपाधिसहित टी-२० विश्वकपमा पुग्न छनोटको अन्तिम खेल जित्नै पर्ने दबाब भएको छ।

ओमानको मस्कटमा आयोजना भइरहेको एसिया-इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआसँग खेल्दैछ ।

अपरान्ह ४:१५ बजेदेखि शुरू हुने यो खेल नेपालले जितेमात्र उपाधिसहित विश्वकपमा पुग्नेछ । हारले नेपाल उपविजेता हुँदै विश्वकपमा जानेछ ।

आजै भएको पहिलो खेलमा ओमानले जापानमाथि सहज जित निकाल्दै ८ अंकसहित नेपालसँग बराबरी गरेको छ । ओमानले जापानलाई ९ विकेटले हराएको हो ।

१०४ रनको सामान्य चुनौती ओमानले १७ ओभरमै १ विकेट गुमाएर पूरा गरेको हो । यो खेलमा ओमान पराजित भएको भएमात्र नेपाल सामोआसँग खेल्नुअघि नै विजेता हुने थियो ।

नेपालको पनि ८ अंक भए पनि जितले १० अंक हुनेछ भने हारले रनरेट कम हुने हुँदा ओमानभन्दा पछि पर्नेछ । अहिले नेपालको रनरेट ०.७४५ छ भने ओमानको ०.४५६ छ । निकै झिनो हारलेमात्र नेपालले उपाधि जित्न सक्ने देखिन्छ । तर ढुक्क हुने भने जित्नैपर्नेछ ।

यो खेल जित्दा नेपालले अपराजित रहँदै स्वतः शीर्ष स्थानमा रहेर उपाधि जित्नेछ । यो आफैँमा नेपालका लागि कीर्तिमान हुनेछ ।

सुपर सिक्समा रहेका छ मध्ये शीर्ष तीन टिमले आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी-२० विश्वकपमा भाग लिन पाउने छन् ।

नेपाल, ओमान र यूएई विश्वकपमा पुगिसकेका छन् । सबै खेल खेलेको कतार र जापान तथा एक खेल कम खेलेको र सामोआ बाहिरिइसकेका छन् ।

अहिले नेपाल र ओमानको ८-८ अंक छ भने यूएईको ६ अंक छ । कतारको ४ अंक छ भने जापानको २ तथा सामोआ अंकविहीन छ ।

नेपालले छनोटका यसअघिका सबै खेल जितेको छ । समूह चरणमा कुवेत र जापानलाई तथा सुपर सिक्समा यूएई, कतार र ओमानलाई हराएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.