Nidan Media

हिलदेवी गाउँ नै पहिरोको उच्च जोखिममा, राति घरमा नबस्न आग्रह

रामेछाप । पहिरोको जोखिम बढ्दै गएपछि रामेछापको सुनापति गाउँपालिका वडा नं ३ हिलदेवीका ७७ घर परिवारलाई राति बस्तीमा नबस्न आग्रह गरिएको छ ।

गत असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगै बस्ती मुनिबाट जमिन बग्न थालेपछि ती बस्तीका नागरिकलाई गाउँपालिकाले राति घरमा नबस्न आग्रह गरेको हो ।

यहाँका बस्तीभन्दा केही तलबाट जमिन खानीखोलातर्फ बग्दै गएको छ । तर वैकल्पिक बसोबासको व्यवस्था नहुँदा उनहरू जोखिममै बस्न बाध्य छन् ।

गाउँपालिका उपाध्यक्ष गीता विष्टका अनुसार हिलेदेवीको केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका ७७ परिवार पहिरोको जोखिममा परेका छन् ।

निरन्तर खसिरहेको पहिरोका कारण कतिपय घर भत्किसकेका छन् भने धेरै घर चिराचिरा परेर ढल्ने अवस्थामा पुगेका छन् । बस्तीको जमिन दिनदिनै तलतिर सर्दै जाँदा स्थानीयका घर चर्कने र भत्कनेक्रम शुरू भएको छ ।

सुनापति गाउँपालिका-३ साउनेका स्थानीय राम श्रेष्ठका अनुसार खानी खोलाबाट सुरु भएको पहिरो अहिले सुनापति डाँडासम्म फैलिँदै गएको छ ।

‘यो ठाउँ पहिले पनि पहिरो चलेको थियो, यस वर्षको पहिरोले जमिन कमजोर बनायो, वर्षाले जताततै पानीका मूल फुटेका छन्, जसका कारण जमिन बिस्तारै बग्न थालेको छ , जमिन बग्न थालेपछि गाउँका घर चर्किन र भत्कन लागेका छन्’, उनले भने ।

सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्टका अनुसार जोखिममा परेका बासिन्दालाई तत्काल राहत र अस्थायी पुनर्वासको व्यवस्था मिलाउन पहल शुरू गरिएको छ ।

जोखिम क्षेत्रका परिवारलाई सुरक्षित ठाउँमा सार्ने प्रक्रिया अघि बढाएइएको उनले बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले वडाध्यक्ष कुलबहादुर थिङको नेतृत्वमा समिति गठन गरी जोखिमग्रस्त परिवारको सूची तयार गरिएको र अब ती परिवारलाई राहत र बसाइसराई दुवै व्यवस्था गर्न पालिका लागेको जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.